दाङ / तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएपछि उनको परिवार आन्दोलित बनेका छन् ।
घटनापछि आफन्त र स्थानीयहरूले न्यायको माग गर्दै बसपार्क क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो १ः४५ बजे, विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.प्र ०२००१ ख ४४ नम्बरको बसले तुलसीपुर–५, सम्झना टोलकी ३९ वर्षीया तिर्सना घर्तीमगरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनालाई तत्काल राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बसका चालक तुलसीपुर–६ निवासी ४२ वर्षीय खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तर, मृतकका परिवारजनले प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले उचित कारवाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पीडित परिवारले चालकको लापरबाहीले दुर्घटना भएको दाबी गर्दै दोषीलाई कडा कारवाही र उचित क्षतिपूर्ति माग गरेका छन् । घटनाको निष्पक्ष छानबिन गर्नका लागि इलाका प्रहरी कार्यालयले सिसीटिभी फुटेजहरूको अध्ययन भइरहेको जानकारी गराएको छ ।
बसपार्क क्षेत्रमा विरोध प्रदर्शनका कारण यातायात सेवा प्रभावित भएको छ । टायर जलाउने देखि अन्य विरोधका अवाजहरु घन्कीरहेको समचार भावना रेग्मीले सम्प्रेशन गर्नु भएको छ । घटनाबारे छलफल गर्न पीडित परिवार, यातायात समिति र प्रहरी प्रशासनबीच वार्ता जारी रहेको डिएसपी अनिल ठकुरीले बताएका छन् । घटनाले स्थानीयवासीहरूलाई आक्रोशित बनाएको छ, र यसले यातायात व्यवस्थापनमा देखिएको लापरबाहीप्रति प्रश्न खडा गरेको छ ।
Comments